ताजा समाचार

१४४ प्रहरी अधिकृतको वृत्ति-विकास अन्योलमा, पछाडि धकेलिँदै बढुवा

काठमाडाैं । नेपाल प्रहरीभित्र समयमै बढुवा प्रक्रिया अघि नबढ्दा १ सय ४४ भन्दा बढी प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ।

नेपाल प्रहरीमा प्रहरी नायब महानिरक्षक (डिआइजी)देखि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सम्म ठूलो संख्यामा दरबन्दी खाली भए पनि गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठक बस्न नसकेका कारण प्रहरी अधिकृतको वृत्ति विकासमा असर परेको हो।

बढुवा समितिको बैठकमा गृहसचिव अनिवार्य हुन्छ। तर तत्कालीन सचिव प्रेमकुमार राई अवकाश हुनुअघि विदेश भ्रमणमा गएकाले बढुवा समितिको बैठक बस्न सकेको थिएन।

उनले शुक्रबार राजीनामा दिएपछि अहिले गृह मन्त्रालयले नयाँ सचिव पाए पनि अझै बढुवा समितिको बैठक बस्न अझै एक हप्ता लाग्ने सम्भावना छ, आजको नागरिकमा खबर छापिएको छ।

समितिको बैठक नबस्दा प्रहरी प्रधान कार्यालयले पनि बढुवा हुने प्रहरी अधिकारीको फाइल मन्त्रालयमा पठाएको छैन। केही दिन गृहसचिव विदेश भ्रमण रहेको र त्यसपछि मन्त्रालयकै काममाव्यस्त भएकाले सिफारिस गर्न नसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

‘बढुवाबारे प्रहरी प्रधान कार्यालयले सिफारिस गर्न बढुवा समितिमा लैजान खोजिरहेको छ तर समितिकै बैठक बस्न निश्चित नभएकाले प्रस्ताव लान सकिएको छैन,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘अब आइजिपीलगायत २१ जना उच्च प्रहरी अधिकारी अनिवार्य अवकाशमा जाने भएकाले पनि अन्य तहको बढुवा प्रक्रिया तत्कालै अघि नबढ्ने सम्भावना रहेको छ।’

उनीहरूले अवाकाश पाएपछि सरकार आइजिपी नियुक्त गर्न लाग्ने भएकाले पनि अन्य अधिकृतको बढुवा पछि धकेलिने भएको हो।

आइजिपी, एआइजी र डिआइजीसहित उच्च प्रहरी अधिकारीले एकैसाथ अवकाश पाउँदैछन्। हाल नेपाल प्रहरीमा डिआइजीसहित रिक्त भएको तीन हप्ता भएको छ भने ८ एसएसपीसहित अन्य ३४ जना एसपीको पद रिक्त रहेका छन्।

डिआइजीका लागि एसएसपी ईश्वरबाबु कार्की, प्रकाश कार्की, अघिल्लो व्याचबाट र पछिल्लो व्याचबाट धिरजप्रतापसिंह, उत्तम सुवेदी, दिवेश लोहनी, रवीन्द्र धानुक, सहकुल थापा, वसन्त लामा, वसन्त पन्तलगायतका प्रतिस्पर्धामा छन्। उनीहरूको व्याजबाट विश्वराज पोखरेल डिआइजी भैसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org