ताजा समाचार

चीनबाट फर्किएका नागरिकको दिनमा दुईपटक हुनेछ स्वास्थ्य जाँच

सरकारले चीनको वुहानबाट एक सय ७५ नागरिकको उद्धार गरेको छ।

हुबेई प्रान्तका विभिन्न ६ सहरमा रहेका उनीहरूलाई वुहानमा जम्मा गरेर उद्धार गरिएको हो । यीमध्ये १७० विद्यार्थी, एक मजदुर, दुई बालबालिका र दुई पर्यटक छन् ।

नेपाल आउन १८५ जनाले आवेदन दिए पनि चारजनाले चीनमै रहने निर्णय गरे भने ६ जनालाई ज्वरो आएका कारण अनुमति नभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

सरकारले आन्तरिक प्रयास थालेको १३ दिनपछि शनिबार विशेष तालिमप्राप्त स्वास्थ्यकर्मी र चालकदलसहित १६ जनाको टोली वुहान पठाएको थियो। उनीहरूअपराह्न ४ बजेर १ मिनेटमा नेपाल वायुसेवा निगमको दुई सय ७४ सिटे वाइडबडी जहाज लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए ।

फर्काइएकाहरूलाई राख्न क्वारेन्टाइनमा लगभग ६० कोठा व्यवस्थापन गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्। उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ ।

क्वारेन्टाइनमा २५ स्वास्थ्यकर्मीको टोली खटाएको छ । कम्तीमा दुई साताको क्वारेन्टाइन अवधिसम्म स्वास्थ्यकर्मी त्यहीँ रहनेछन् । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ।

व्यक्ति स्वयंले जाँच गर्न मिल्ने गरी छुट्टाछुट्टै थर्मोमिटर पनि राखिएको छ । मन्त्रालयका अनुसार सबैको प्रारम्भिक जाँच क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र र अर्को जाँच १४ दिनमा गरिनेछ । पाँच गाडी र तीन सुविधासम्पन्न एम्बुलेन्स पनि तयारी राखिएको छ।

परिवारसहितका लागि बेग्लै, पुरुष र महिलालाई बेग्लाबेग्लै तथा चिकित्सकलाई पनि बेग्लै ब्लकमा वासस्थान मिलाइएको छ । क्वारेन्टाइनमा १८ सिसिक्यामेरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पिकर जडान गरिएको छ।

कपडा धुन तीनवटा वासिङ मेसिन राखिएको छ । प्रत्येक शड्ढयामा बेग्लै ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रस, मस्क, औषधिलगायत आवश्यक सामग्री व्यवस्था गरिएको छ।

त्यस्तै, क्वारेन्टाइनमा मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोर्ट बनाइएको छ भने क्यारिमबोर्डको पनि व्यवस्था छ । बच्चाका लािग खेल सामग्री राखिएका छन्।

बिहान नास्ता, बिहान ११ः०० बजे खाना, अपराह्न ३ः०० बजे खाजा र साँझ ७०० बजे खाना खुवाउने व्यवस्था गरिएको छ । क्वारेन्टाइन क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र बललाई सुरक्षाको जिम्मा दिइएको छ । उद्धार टोलीका सदस्यहरूलाई पनि बेग्लै क्वारेन्टाइनमा राख्ने तयारी छ ।

‘क्वारेन्टाइनमा भइपरी आउने समस्यालाई ध्यान दिँदै सबै आवश्यक तयारी गरिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । क्वारेन्टाइनमा रहँदा अभिभावकसँग भेटघाट गर्न बन्देज गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org