ताजा समाचार

बेलायतकी स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण

एजेन्सी । बेलायतकी स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसदलाई कोरोना संक्रमण देखिएको छ ।

मन्त्री नादिन डोरिसमा कोरोनाको संक्रमण देखिएको हो । उनी बेलायतमा कोरोना संक्रमण हुने पहिलो सांसद हुन् । भने, आफू कोरोना संक्रमित भएको थाहा पाएपछि घरमै सेल्फ आइसोलेसनमा बसेको उनले जानकारी दिएकी छन् ।

संयुक्त राज्यमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो पटक ८० वर्षका एक वृद्धको मृत्यु भएको थियो । उनको स्वास्थ्यमा यसअघि पनि विभिन्न समस्या देखिएका थिए ।

साथै एनएचएस इङ्गल्याण्डले संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा संक्रमित भए नभएको परीक्षण गर्ने प्रणालीको क्षमता वृद्धि गर्ने तयारीमा भएको जानकारी दियो ।

अहिले दिनमा १५ सयको परीक्षण हुँदै आएकोमा नयाँ प्रणालीपछि दैनिक १० हजारको परीक्षण गर्न सकिने बताइएको छ ।

डोरिसले एक वक्तव्य जारी गर्दै बेलायतको सार्वजनिक स्वास्थ्य विभागले उनीसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको र उनको विभाग र संसदीय कार्यालयले विभागको सल्लाह अनुसरण गरिरहेको जानकारी दिएकी छिन् ।

६२ वर्षे डोरिसले नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org