ताजा समाचार

‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ नाममा सूचना प्रविधि विधेयकलाई ब्युँताउन खोजियोः कांग्रेस

काठमाडौं  । नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकलाई ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा ब्युँताउन खोजिएको भन्दै आपत्ति जनाएको छ।

सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको कांग्रेसले आरोप लगाएको हो।

प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक संजाल लाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति नहुने र त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान रहेको बताएका छन्। उनले थप व्यवस्था आवश्यक भए वृहत्तर विमर्श बेगर संसद विघटन भएको समयमा निर्देशिका मार्फत् जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको टिप्पणी गरे। विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्नेगरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइदैन।’ प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्नेसमेत जनाइएको छ।

सामाजिक संजालमा व्यक्त मतलाई सरकारी आबेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको संज्ञा दिँदै कांग्रेसले यसविरुद्ध युवा पुस्तालाई सजक बन्ने समेत अपिल गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org