ताजा समाचार

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं । बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्ताले बगंलादेशलाई १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगलादेशका लागि ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए पनि जितका लागि पर्याप्त बनेन् । उनले नटआउट रहँदै ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तोहिद हृदोयले ९ बलमा १४ रन जोडे ।त्यस्तै, सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए ।

कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने खेलाडी पनि बने । उनले न्युजिल्यान्डका टीम साउथीको कीर्तिमान तोडेका हुन् । नविन उल हकले पनि ३.५ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए ।

कप्तान रासिद खानले १० बलमा १९ रन जोडे । उनले ३ छक्का प्रहार गरे । त्यस्तै, इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए । कसिलो बलिङ गरेको बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । त्यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org