ताजा समाचार

सिके राउत र सरकारले गरेको सम्झाैताले नेकपामा किचलो

काठमाडाैं । सरकार र सिके राउतबीच भएको भनिएको राजनीतिक सम्झाैताले राजनीतिमा मात्रै नभएर समाजमा समेत तरङ्ग फैलाएको छ ।

देश विखण्डन गर्छु भन्दै आन्दोलनमा लागेका राउतलाई एकाएक राष्ट्रवाद र नेपालको  एकिकरणको हिस्सा बनाउन खोजेपछि नेकपाको आन्तरिक जीवन नै खतरामा पर्न थालेको छ । नेता भीम रावल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अन्यले खुलेरै यसको विरोध गरेका छन्  ।

सिकेले दाबी गरेजस्तै जनमत संग्रहको सहमतिको ड्राफ्ट कतै गोप्य लुकाएर त राखिएको छैन ? यस्ता प्रश्नले सर्वसाधारण देखि नेतासम्म भय सिर्जना गरेको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेलाई प्रचण्डसँग तुलना गरेपछि पूर्चमाओवादीका नेता तथा कार्यकर्ता समेत रुष्ट बनेका छन् । भातृ संगठन वाइसिएलका महासचिव सुबोध सेर्पालीले सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै यसको विरोध समेत गरेका छन् । सेर्पालीले कडा शब्दको प्रयोग गर्दै भनेका छन,’गणतन्त्रको सपनामासम्म नदेख्नेहरुले गणतन्त्रका नायक अर्थात आजको राज्य व्यबस्थाका योजनानाकार क.प्रचण्डलाई कथित स्वतन्त्र मधेस अभियानता भनिने डा.सि.के रावत सँग दाज्नु मेरो बुझाइमा घोर अपमान र बेइमानी हो । सिके रावतसँगको सम्झौता पुर्णत गलत नै हो नपत्याए उनको फेसवुक वालमा हेरे हुन्छ ३ फिट उफ्रेर जयजयकार गर्नेहरुले…? हामी विशाल नेपालको पक्षमा छौं तिमी बर्तमान नेपाल टुक्राउने बाटोमा छौ ? मानिदैन सिके तिम्रो नकाबधारी तानबुनाहरु । बाँकी सिके रावतको फेसबुक पेजमा हेर्नुहोस् ।’

गणतन्त्रको सपना देख्नै नसक्नेहरु गणतन्त्रका नायक तथा योजनाकारलाई कथित स्वतन्त्र मधेसका अभियान्ता सिकेँग जोड्नु घोर हपमान र बेइमानी हो भन्दै उनले सम्झाैता नै गलत रहेको जनाएका छन् ।

सिकेसँग भएको सहमतिको विरोध उनी मात्रै नभए थुप्रैले गरेका छन् । प्रधानमन्त्री ओलीले विप्लवलाई लुटेरा भन्दै सिकेलाई काखी च्याप्न खोजेपछि झनै समस्या बढेर गएको नेकपाका एक नेताले जनाए । उनले लुम्बिनि भ्वाइससँग भने, कम्युनिष्ट आन्दोलनमा लागेकालाई राजनीतिक व्यवहार नगरेर देशै टुक्र्याउने कुरा गर्दै आएका सिकेलाई नजिकको र प्रचण्डसँग तुलना गर्नु नै अपराध हो ।

प्रचण्ड कसरी त्यहाँ पुग्नु भयो र आफुलाई सिकेसँग तुलना गर्दासम्म किन मनाैन बस्नु भयो खै यो अहिले नै भन्न सकिन्न । ती नेताले भने ।

यता पूर्व गृहमन्त्रीसमेत रहेका नेकपाका अर्का नेता जर्नादन शर्मा ‘प्रभाकर’ ले पनि सीके राउतले ‘जनअभिमत’ शब्दलाई ‘जनमत संग्रह’ को रुपमा व्याख्या गरेकोले अहिले सहमतिबारे प्रश्न उठेको बताएका छन् ।

उनले यस विषयमा सरकारले कार्यक्रमकै बेला स्पष्ट पारेको भए अहिलेको स्थिति पैदा नहुने जिकिर गरे । उनले सरकारलाई सहमतिबारे स्पष्ट पार्न माग गर्दै भने, ‘जनअभिमत भन्ने शब्दको अर्थ निर्वाचन भन्ने मात्र कहाँ हुन्छ ?’

गत शुक्रबार सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति भएको थियो भने, आइतबार सिके राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात् परित्याग गरिएको भनिएको’ ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा र माग लगाएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org