ताजा समाचार

खानेपानी विभाग भन्छ- हावाहुरी प्रभावित क्षेत्रमा पानीको गुणस्तरमा समस्या छैन् !

काठमाडौं । खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ ।

प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारा मार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्ने एक्वा ट्याब दिएको हो । पानीको गुणस्तर जाँच गर्ने उद्देश्यले काठमाडौंबाट पठाईएको वाटर एम्बुलेन्सले उक्त क्षेत्रमा पानी परीक्षण गर्दा त्यस्तो कुनै गम्भीर समस्या नदेखिएको विभागका पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले जानकारी दिए ।

‘पानीको स्रोतमा त्यस्तो कुनै खराबी छैन, पाण्डेले भने, तर ट्वाईलेटको भने मुख्य समस्या छ । जथाभावी दिशा पिसाब गर्दा पानीमा समस्या आउन सक्छ । त्यसैले सबैजना सचेत हुनु जरुरी छ ।’

विशेषज्ञ पाण्डेले पानीका स्रोतमा ब्याक्टेरिया मार्न ५० किलो ब्लिचिङ पाउडर समेत खानेपानी डिभिजन कार्यालय बारामा पठाइएको जनाएका छन् ।

हावाहुरी आँधीले क्षति पु-याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाई सकेको छ ।

विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा पाण्डेले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org