ताजा समाचार

यी हुन् काठमाडौं उपत्यकाभित्र अपराधका ७ अखडा

काठमाडौं । काठमाडौं उपत्यका, संघीय सरकारको राजधानी मात्र होइन, अपराधको राजधानी पनि बन्दै गएको छ। उपत्यकाको तथ्यांक हेर्दा प्रत्येक घन्टा कम्तीमा दुई अपराधका घटना भइरहेका छन्।

प्रहरीकै तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/०७६ मा उपत्यकाभित्र दश हजार २०९ मुद्दा दर्ता भएका छन्। तर, अपराध न्यूनीकरण गर्ने प्रहरी जनशक्तिको भने अभाव छ।

मुद्दा दर्ताका आधारमा काठमाडौंका न्युरोड, ठमेल, बलाजु, थानकोट र स्वयम्भुलाई अपराधको एल्लो जोनका रूपमा लिन सकिन्छ।

आर्थिक वर्ष ०७५/७६ मा न्युरोड तथा वसन्तपुर क्षेत्रमा मात्रै चार सय ८१ अपराधका घटना भएका छन्। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।

टेकु : उपत्यकाका तीन जिल्लाअन्तर्गत मुद्दा दर्ता हुने प्रहरीका २१ युनिट छन् । यीमध्ये तीन परिसर कार्यालय र १८ वृत्त कार्यालय छन् । प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै मुद्दा महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता हुन्छ । आर्थिक वर्ष ०७५/७६ मा टेकुमा मात्रै एक हजार ६ सय ३८ मुद्दा दर्ता भए।

अधिकांश मुद्दा बैंकिङ कसुर, साइबर अपराध र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, बलात्कार, ठगी तथा लागुऔषधसँग सम्बन्धित मुद्दा धेरै दर्ता भएका छन् । अपराधमा टेकु, सुन्धारा र बागमती नदी आसपासका क्षेत्र बढी संवेदनशील छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा महाराजगन्ज वृत्तमा मात्रै नौ सय तीन मुद्दा दर्ता भए । सबैभन्दा धेरै बैंकिङ कसुर र सार्वजनिक मुद्दा छन् । बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी अपराध पनि उत्तिकै धेरै छन् ।

बौद्ध : मुद्दा दर्ताका आधारमा सबैभन्दा धेरै अपराध हुने क्षेत्र बौद्ध हो । यस क्षेत्रका तिनचुले, जोरपाटी, नयाँबस्ती र बौद्ध आसपासका क्षेत्रमा धेरै अपराध हुने गरेका छन्। तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा बौद्ध क्षेत्रमा मात्रै आठ सय २० मुद्दा दर्ता भएका थिए। अधिकांश मुद्दा बैंकिङ कसुर र सार्वजनिक अपराधका छन् । त्यसपछि चोरी, ठगी, बलात्कार र जुवासम्बन्धी अपराध यो क्षेत्रमा धेरै हुने गरेका छन् ।

बानेश्वर : मुद्दा दर्ताका आधारमा बानेश्वरमा पनि धेरै अपराध हुने गरेको देखिन्छ । खासगरी कोटेश्वर र बागमती नदी किनारका सुकुमबासी बस्ती क्षेत्रमा अपराधका धेरै घटना हुने गरेको प्रहरी तथ्यांक छ। आर्थिक वर्ष ०७५/७६ मा बानेश्वर वृत्तमा सात सय ९३ मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी मुद्दा धेरै छन् ।

ललितपुर : ललितपुरमा खासगरी झम्सिखेल आसपासको क्षेत्रमा बढी अपराधका घटना हुने गरेको तथ्यांकले देखाउँछ । यो क्षेत्रमा ०७५र७६ मा सात सय दुई अपराध भए । तीमध्ये अधिकांश अपराध सार्वजनिक मुद्दासँग सम्बन्धित थिए । त्यसबाहेक लागुऔषध, बलात्कार, चोरी र ठगीसँग सम्बन्धित मुद्दा धेरै छन्।

कालिमाटी : कालिमाटी प्रहरीले हेर्ने क्षेत्रमध्ये कुलेश्वर, कलंकी आसपासमा धेरै अपराध हुने गरेको छ । ०७५/७६ मा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ६ सय ८० अपराधका मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, ठगी, बलात्कार र लागुऔषधसँग सम्बन्धित अपराध पनि यस क्षेत्रमा धेरै हुने गरेका छन्।

गौशाला : गौशाला प्रहरीमा ०७५/७६ मा ६ सय ३४ मुद्दा दर्ता भएका थिए । तीमध्ये बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित धेरै छन् । त्यसबाहेक चोरी, लागुऔषध, ठगी र बलात्कारका घटना पनि धेरै छन्। विशेषगरी पशुपति, गौशाला, तिलगंगा आसपासका क्षेत्रमा अपराधका घटना धेरै हुने गर्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org