ताजा समाचार

देशभर चर्किएको आन्दोलनप्रति स्वास्थ्यमन्त्री ढकालको जवाफ : कोरोनामा राजनीति मिसियो

काठमाडाैँ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको भनिएको दश अर्ब रुपैयाँमा भ्रष्टाचार भएको भन्दै देशभर विरोध प्रदर्शन चर्किरहेका वेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश गरेको अभिव्यक्ति दिएका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाइएको प्रतिक्रिया दिएका हुन् ।

उनले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको पनि बताए ।

पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय देशभर सरकारविरुद्ध भइरहेका प्रदर्शनहरूलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरू बढेको बताए ।

उनले भने, ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरू बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।’

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोराेनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको आरोप लगाए ।

पछिल्लो एक–दुई दिनका घटनामा हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनको भनाइ छ ।

मन्त्री ढकालले कान्ति बाल अस्पतालमा ई–टिकेटिङ प्रविधि सुरु भएसँगै समयको बचत हुनुका साथै आर्थिक अनियमितताको सम्भावना नहुने बताए ।

जनशक्ति व्यवस्थापनमा पनि यसले सहज गर्ने उल्लेख गर्दै उनले चिनजान र परिचयका आधारमा द्रुत सेवा प्राप्त हुन्छ भन्ने धारणा हराउँदै जाने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org