ताजा समाचार

सिसिएमसी निर्णय : धेरै नेपाली भएका देशहरूमा उद्धार उडानलाई प्राथमिकता दिने

काठमाडाैँ । कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिको आइतबार बसेको बैठकले धेरै नेपाली भएका देशहरूमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको सिसिएमसी बैठकले धेरै श्रमिक उद्धार गर्न बाँकी रहेका देशहरूमा हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले धेरै श्रमिक भएको देशबाट उद्धार गर्ने निर्णय भएको बताए । सचिव गुरागाईंले  कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

‘संक्रमणको संख्यामा हाल केही कमी हुँदै गएको र निष्क्रमणको संख्याहरू बढ्दै गएको हुनाले यसलाई नियन्त्रित रूपमा राख्नुपर्ने नै विश्लेषण भएको छ,’ उनले भने, ‘साउन ६ गतेसम्म कायम भएको नेपाल सरकारको निर्णयलाई परिमार्जन गर्न के–कस्ता क्रियाकलाप गर्न सकिन्छ अथवा यसलाई कसरी लानुपर्छ भन्ने विषयमा फेरि छलफल गरेर नेपाल सरकार मन्त्रिपरिषदमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव लैजाने गरी निर्णय भएको छ ।’

क्वारेन्टाइनमा रहेको संख्या घट्दै गएकाले पिसिआर परीक्षणको संख्या पनि घटेको गुरागाईंले बताए । आवश्यकता परेमा पिसिआर परीक्षणको दायरा बढाउन सक्ने अवस्थामा स्वास्थ्य मन्त्रालय रहेको जानकारी दिए ।

‘अहिले क्वारेन्टाइनमा रहेको संख्या नै घट्दै गएको छ,’ उनले भने, ‘जति आवश्यक हुन्छ त्यसअनुसार पिसिआर परीक्षण गर्ने अवस्थामा स्वास्थ्य मन्त्रालय छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org