ताजा समाचार

काठमाडौं उपत्यकामा फेरी एक हप्ता ‘लकडाउन’ थपिने सम्भावना

काठमाडाैँ । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा दोस्रोपटक थपिएको निषेधाज्ञा को अवधि अब एक दिन बाँकी छ अर्थात् भोलि बुधबार मध्यराति १२ बजे सकिँदै छ।

तर उपत्यकाका कोरोना संक्रमण घट्दो देखिन्न, दिनप्रतिदिन बढ्दो छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै उपत्यकामा २९८ (काठमाडौंमा १९०, ललितपुरमा भक्तपुरमा ४१ र ललितपुरमा ६७) जना संक्रमित थपिएका छन्।

यस्तो अवस्थामा निषेध अन्त्य गर्ने सम्भावना नरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

‘सहजीकरण गर्ने नाममा अहिल्यै स्वास्थ्यका मापदण्ड बेवास्ता गर्न मिल्ने अवस्था छैन, कडाइ अझै जारी राख्न जरुरी देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘त्यसकारण भदौ १७ बाट पुनः एक हप्ता निषेधको अवधि लम्ब्याउनेबारे हामी (तीन जिल्लाका सीडीओ) अनौपचारिक छलफल गरिरहेका छौं।’

उनका अनुसार अरू एक हप्ता निषेधको आदेश जारी हुन सक्ने सम्भावना छ।  ‘यस विषयमा निर्णय गर्न सम्भवतः भोलि (बुधबार) बैठक बस्नेछौं,’ उनले भनिन्।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि यस विषयमा भोलि संयुक्त बैठक बसेर समीक्षा गर्ने र एउटा निर्णय हुने जानकारी दिए।

‘सबैबाट रिपोर्ट आउँछन्, त्यसको समीक्षा गरिन्छ अनि एउटा निर्णय गरिन्छ,’ उनले भने, ‘तर अहिल्यै निषेधाज्ञा थपिन्छ थपिँदैन म भन्न सक्दिनँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org