ताजा समाचार

छलफल गरेको भए दाङ नै राजधानी स्वीकार्न सकिन्थ्यो, सत्तापक्षले दम्भ देखायो: कांग्रेस

प्रदेश नम्बर ५ का विपक्षी दल नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले विस्तृत छलफल गरेर प्रदेशको राजधानी तोकेको भए दाङ पनि स्वीकार्य हुन सक्ने बताएका छन्।

तर सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपाले छलफलबिना ‘छापामार शैली’मा प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्बिनी प्रस्ताव दर्ता गरेको उनले बताए।

‘बहुमतको दम्भमा पेलेर देखाउँछु भनेर सत्तापक्ष लाग्यो। प्रतिपक्षको हैसियत छैन भन्ने देखाउन खोज्नुभयो। हामी १९ जना छौं। प्रतिपक्षको सधैं सम्मान गर्नुपर्छ,’ मंगलबार प्रदेशसभामा बोल्दै उनले भने।

निषेधाज्ञा, आन्दोलन र मानिसहरू पक्राउ परेका बेला छिटो प्रक्रियाबाट राजधानी र नाम तोक्न सरकारले खोजेकोले आफूहरूले विरोध गरेको उनले बताए।

संसदमा कुर्सी तोडफोड र सभामुखलाई लक्षित गरी माइक प्रहार हुने घटना सिर्जना हुनुको कारण नै सरकार एकलौटी ढंगले अघि बढ्नु रहेको उनको भनाइ छ।

सोमबार प्रदेशसभामा कांग्रेस सांसदले कुर्सी तोडफोड गरेका थिए।

सत्तारूढ नेकपाले आफूसँग बहुमत हुँदाहुँदै पनि राजधानी बारेका विभिन्न प्रस्तावमाथि छलफल गर्न नसकेकाले परिस्थिति सोचेअनुसार अगाडि नबढेको उनले बताए।

राजधानीका विकल्पबारे विस्तृत रूपमा छलफल गरेको भए संसदमा तोडफोड गर्नेजस्ता विरोध पनि नहुने उनको भनाइ छ।

‘१३ जनाको सुझाव समितिले राजधानीबारे तीन विकल्प दिएकोमा त्यो प्रतिवेदन सार्वजनिक नै गरिएन,’ उनले भने, ‘दाङमा पनि कांग्रेस छन्। दाङ कांग्रेसको किल्ला नै हो। दाङ नै राजधानी पनि स्वीकार हुन सक्थ्यो तर छलफल किन गरिएन?’

१३ जनाले राजधानी कहाँ राख्ने भन्नेबारे अध्ययन गरे पनि त्यसबारे कुनै छलफल नगरेकोमा उनले असन्तुष्टि जनाएका हुन्।

दाङ, कपिलवस्तु र रूपन्देही राजधानी हुन सक्ने उक्त समितिको निष्कर्ष रहेको उनले बताए।

‘राजनीतिक संवाद नगर्ने? पेलेर जाने?’ उनले भने, ‘अहिलेसम्म जे भयो सबै बिर्सेर नयाँ ढंगले अगाडि बढौं।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org