ताजा समाचार

नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली झापामा

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृहजिल्लामा विभिन्न पुल उद्घाटन र शिलान्यास कार्यक्रममा सहभागी हुन आएका छन्।

यति एयरलायन्सको पहिलो उडानबाट झापा आएका प्रधानमन्त्री ओलीलाई भद्रपुर विमानस्थलमा प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं. ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, सांसद्हरु, नेकपाका केन्द्रीय नेताहरु लगायतकाले स्वागत गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुल, दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन गर्नेछन्। आजै मध्यान्हमा बहुचर्चित नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम छ।

त्यसपश्चात् ओलीले इलामको चुलाचुली जोड्ने पुल उद्घाटन गर्नेछन्। दमकको बेलडाँगी र इलामको बुकुवाबीचको रतुवा खोलाको पुल पनि प्रधानमन्त्रीले आजै शिलान्यास गर्दै छन्।

दिउँसो करिब ४ बजे प्रधानमन्त्री ओलीले मदन भण्डारी मार्गमा जोडिने ३१ वटा पुलको शिलान्यास पनि एकैपटक गर्ने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए। प्रधानमन्त्री आज साँझै काठमाडौं फर्कने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org