ताजा समाचार

माओवादीतर्फका मन्त्रीहरूलाई प्रधानमन्त्रीले बाेलाए बालुवाटार

काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले माओवादीतर्फका मन्त्रीहरूसँग छलफल गरिरहेका छन् । ऊर्जामन्त्री टोपबहादुर रायामाझीले अहिले आफूहरू बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरिरहेको बताए । यद्यपि, उनले के विषयमा छलफल भइरहेको खुलाएनन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसलापछि बालुवाटारमा यस्ता बैठक नियमित भइरहेको बताए । ‘अब कसरी अघि बढ्ने, के गर्दा देशलाई राम्रो हुन्छ, यसबारे प्रधानमन्त्रीज्यू अस्तिदेखि नै छलफलमा हुनुहुन्छ । त्यहीअनुसार भइरहेको बैठक हो’, थापाले भने ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेललगायत छन् । ओली समूहमा लागेका माओवादीतर्फका ऊर्जामन्त्री रायामाझीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्याेगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह सहभागी छन् ।

अस्ति आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी ब्युँताउने गरी फैसला गरेको थियो ।

यस्तो फैसलापछि प्रचण्ड–माधव समूहका रूपमा सक्रिय साबिक नेकपाका नेताहरू पुरानै घर फर्किएका छन् । यसै सन्दर्भमा माओवादीतर्फका मन्त्रीहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org