ताजा समाचार

नेपालसमूहको आज राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं । नेकपा एमालेको माधव-झलनाथ समूहले बुधबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

ललितपुरमा हुने दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाको व्यवस्थापकीय तथा राजनीतिक तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलनमार्फत एमाले नेता योगेश भट्टराईले जानकारी दिएका थिए।

यो समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो। सर्वोच्चको फैसलापछि केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको यो समूहको आरोप छ। अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रुपमा खारेज गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्दै आएको यो समूहको कार्यकर्ता भेलाले उनलाई दबाब दिने बताइएको छ।

‘सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनस्र्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनस्र्थापना नभई सिंगो पार्टीको पुन:स्थापना भएकाले त्यस अनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र हामीले बलियो पार्टी निर्माण गर्न सक्छौँ। यसबीचमा नियतवश गरिएका पार्टी एकताविरोधी, विधान प्रतिकूल र एकलौटी कदमहरुले सिर्जना गरेका पार्टी एकताका चुनौतीहरुलाई एकताबद्ध रुपमा प्रतिवाद गर्दै असफल पार्न हामी आम पार्टी पंक्तिलाई आह्वान गर्दछौँ।’

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनताको बहुदलीय जनवादको  मुल्य र मान्यताको रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्नका लागि सबै नेता, कार्यकर्ता र आम जनमुदायको एकताबद्ध प्रयास यसबेला थप खड्किएको छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org