ताजा समाचार

काठमाडौं उपत्यकाका घरघरमा आजदेखि मेलम्चीको पिउन योग्य पानी

काठमाडौं । वर्षौको प्रतीक्षापछि मेलम्चीको पानी आज काठमाडौं उपत्यकाको धारामा आउने भएको छ।

मेलम्चीको अम्बा थानबाट आएको पानी सुन्दरीजलमा प्रशोधन भएर काठमाडौं उपत्यकाका घरघरमा पुग्ने भएको हो।

आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२  निर्देशनालयले जनाएको छ।

आयोजनाले  एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले बताए।
आज चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेकाको उनले बताए।

सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्नेने तयारी रहेको प्रजापतिको भनाइ छ। चैत २१ गते पानीपोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण हुनेछ।

मेलम्चीको पानी पहिलो दिनदेखि नै पिउन योग्य गरि धाराधारामा पठाइने काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ।

मेलम्ची खानेपानी उप आयोजनाका अनुसार  मेलम्चीको पानी फागुन २२ गते सुन्दरीजलमा झारिएको थियो। मेलम्चीको पानी आएपछि शिवरात्रिको लागि बागमतीमा पठाइएको थियो। त्यसपछि सुरुङ सफा गर्न उपयोग गरिएको आयोजनाको भनाइ छ।

सुन्दरीजलमा पानी वितरणका लागि १० ओटा पोखरी निर्माण गरिएको छ। जसमध्ये नौ ओटा तयारी अवस्थामा छन्।  विस्तारै सबैगरी १० ओटा पानी पोखरीमा ७४ हजार पाँच सय घनमिटर पानी संकलन हुने केयूकेएलले जनाएको छ।

पानी दैनिक २ घण्टाको दरले उपत्यकामा वितरण हुने केयूकेएलले जनाएको छ।  मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणको पानी धारामा पठाइसकेपछि दोस्रो चरणमा चक्रपथ रिङरोड बाहिरका क्षेत्रमा पानी पठाउने जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org