ताजा समाचार

प्रधानमन्त्री ओली थ्री नेसन्स कपको फाइनल हेर्न रंगशाला जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।

सोमबार दिउँसो नेपाल र बंगलादेशबीच फाइनल प्रतियोगिता हेर्न प्रधानमन्त्री ओली रंगशाला आउने अखिल नेपाल फुटबल महासंघ(एन्फा) का प्रवक्ता किरण राईले बताए । ‘प्रधानमन्त्रीज्यू सवा ५ बजे रंगशाला आइपुग्ने कार्यक्रम छ । उहाँले फाइनल खेल हेरेपछि पुरस्कार वितरण गर्नुहुनेछ,’ प्रवक्ता राईले भने ।

नेपाल र बंगलादेशबीचको फाइनल बेलुकी साढे ५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन् । नेपालले बंगलादेशविरुद्ध २२ वर्षअघि फाइनल खेल्दा प्रशिक्षक बालगोपाल महर्जन टिमका मिडफिल्डर थिए ।

दशरथ रंगशालामै भएको सन् १९९९ को आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) को त्यो फाइनलमा घरेलु टिमलाई १–० ले निराश पार्दै बंगलादेशले स्वर्ण पदक लगेको थियो । पहिलो साफ गेम्स (१९८४) को फाइनल भेटमा भने नेपालले बंगलादेशलाई ४–२ ले पन्छाउँदै स्वर्ण चुमेको थियो ।

नेपालले उपाधिविहीन यात्रालाई २३ वर्षमा टुंग्याउँदै २०१६ मा ढाकामा बंगबन्धु गोल्डकप जित्दाका प्रशिक्षक पनि हुन् महर्जन । उनले नेपाली टिमलाई साफ यू–१९ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद (यू–२३) को उपाधि पनि जिताएका थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org