ताजा समाचार

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावको तयारी

मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिअनुसार अविश्वास प्रस्ताव दर्ता हुदै

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।

प्रदेशसभामा प्रस्ताव दर्ता गराउन कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाबीच गठबन्धनकाे प्रयास भइरहेको छ । त्यसका लागि कांग्रेसले आन्तरिक छलफल तीव्र पारेको छ ।

विपक्षी दलहरूबीच सहमति जुटेको अवस्थामा कांग्रेसको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता हुने बताइएकाे छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न विपक्षी दलहरूबीच अनौपचारिक छलफल तीव्र पारिएका छन् । टुंगो लागि नसकेको भए पनि एक हप्ताभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको कांग्रेस स्रोतले बतायाे ।

माओवादी केन्द्र, जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिअनुसार अविश्वास प्रस्ताव दर्ता हुन लागेको हो ।

लुम्बिनीको प्रदेशसभा ८७ सदस्यीय छ । त्यसमा ४१ जना सांसद एमालेका हुन् । बहुमतका लागि ४४ सदस्य आवश्यक पर्छ । लुम्बिनी प्रदेशमा माओवादी दोस्रो दलको रूपमा छ ।  माओवादीसँग २० सांसद छन् भने तेस्रो ठूलो दल कांग्रेससँग १९ सांसद छन् । जसपाका ६ र जनमोर्चाका १ जना सांसद छन् ।

गठबन्धन सफल भएमा एमालेविरुद्ध ४६ सांसद एकठाउँ हुनेछन् । यसाे भएमा मुख्यमन्त्री अल्पमतमा पर्नेछन् । तर, अहिले माओवादी केन्द्रका दुईजना सांसदको पद खारेजी प्रक्रियामा छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका कारण सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको सांसद पद जाेखिममा छ ।

यसले मुख्यमन्त्री पोखरेलविरुद्धको समीकरणका लागि केही समस्या भने पार्ने छ । त्यसबाहेक एमालेभित्रै माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदको भूमिका पनि पोखरेलको पद जोगाउने वा हटाउनेमा महत्त्वपूर्ण हुनेछ । लुम्बिनीमा खनाल-नेपाल समूहमा दुई सांसद छन् ।

एमालेले माओवादी नेतृत्वकाे कर्णाली प्रदेश सरकार ढाल्ने तयारी गरेपछि माओवादी लुम्बिनी प्रदेश ढाल्न लागिपरेकाे हाे  । त्यसका कांग्रेस सहमत भएको हो । मुख्यमन्त्री पोखरेललाई विपक्षी गठबन्धनले हटाएमा प्रधानमन्त्री केपी ओलीका लागि त्याे ठूलो धक्का हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org