ताजा समाचार

एमसीसी लगायत सन्धि अनुमोदनका लागि दर्ता भएका छन्, सदनले किन अगाडि बढाएन ?

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सदनलाई सरकारले बिजनेस नदिएको भन्ने सांसदहरूको भनाइलाई अस्वीकार गरेका छन् ।

उनले विभिन्न सन्धि संसद्‌मा दर्ता गराएको तर सदनले अगाडि नबढाएको भन्दै किन अगाडि नबढाएको हो भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री ज्ञवालीले भने, ‘विभिन्न सन्धिहरू सदनमा सरकारले अनुमोदनका लागि पेस गरेको छ । किन अगाडि बढेका छैनन् ? म भन्न सक्दैन । सदनको एजेन्डा सरकारले तय गर्ने होइन । सरकारले दर्ता गर्ने हो ।’

कांग्रेस सांसदले एमसीसीलगायतका सन्धि सदनबाट अगाडि बढाउन सरकार किन अग्रसर नभएको हो भनेर प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, ‘सरकार जहिले पनि एमसीसी भन्नुस्, आईएईएको एटोमिक इनर्जीसँग सम्बन्धित सम्झौता भन्नुस्, अन्तर्राष्ट्रिय सन्धिहरू अनुमोदनका लागि दर्ता भएका छन् । हामी त सधैं तयार छौं । सदनले किन अगाडि बढाइरहेको छैन । सदन स्वयंले यसको जवाफ दिनुपर्छ ।’

अमेरिकी सहयोग निकाय एमसीसीसँग भएको सम्झौता लामो समयदेखि संसद्‌मा दर्ता भएर बसेको छ । त्यसलाई अगाडि बढाउने विषयमा सत्तारुढ दलभित्र नै विवाद भएकाले यो सन्धि अलपत्र परेको हो । यसलाई लिएर अझै पनि दलहरूबीच सहमति हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org