ताजा समाचार

सुदूरपश्‍चिमका सबै जिल्लामा नेपाल समूहका समानान्तर समिति

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर समिति बनाएको छ ।

धनगढीमा दुई दिनसम्म चलेको प्रदेश समितिको आठौँ बैठकले जिल्ला र जनसंगठनका समिति समानान्तर समिति बनाएको निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । बैठकले जिल्ला र प्रदेश समितिमा समानान्तर समिति बनाएको छ भने बैठकले संगठनलाई समानान्तर समिति गठन गर्न निर्देशन दिएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कञ्‍चनपुरमा अध्यक्षमा तारा लामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रविन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावतलाई जिम्मेवारी दिइएको प्रदेश समितिले जनाएको छ ।

बाजुरामा गगनबहादुर रावल अध्यक्ष, पुरबहादुर रावत सचिव र निरबहादुर शाही उपसचिव, बैतडीमा महादेव भट्ट अध्यक्ष, कृष्ण साउद उपाध्यक्ष, हर्कबहादुर धानुकलाई सचिवमा चयन गरिएको छ ।

अछाम, कैलाली, डडेल्धुरा, डोटी र बझाङमा भने यसअघिकै पदाधिकारीलाई निरन्तरता दिइएको छ । रिक्त पदाधिकारी पूर्ती गर्न जिल्ला समितिलाई निर्देशन दिइएको छ । कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल, बझाङमा दीलबहादुर सिंह र अछाममा शेरवहादुर कुँवरलाई नै अध्यक्षमा नितरन्तरता दिइएको प्रदेश समितिले जनाएको छ ।

नौँ वटै जिल्लाका जनसंगठन र पेशागत संगठनमा पनि समानान्तर समिति बनाउन निर्देशन दिइएको पार्टीका सुदूरपश्‍चिम इञ्‍चार्ज भीम रावलले जानकारी दिए । बैशाखदेखि असार १५ गतेसम्म वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भएको रावलले बताए ।

यस्तै नेकपा (एमाले) सुदूरपश्‍चिमका अध्यक्ष कर्ण थापालाई कारबाही गर्न सिफारिस गरिएको छ । पार्टी विभाजन गर्न संलग्‍न भएको, पार्टी कार्यालयमा गुण्डागर्दै र तोडफोड गरेको भन्दै थापालाई पार्टीका सबै जिम्मेबारीबाट हटाउँदै पार्टी सदस्यताबाट एक वर्षका लागि निलम्बन गर्नसमेत सिफारिस गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org