ताजा समाचार

प्रदीप गिरिको आह्वान- राष्ट्रिय सहमतिको सरकार बनाऔं

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोलेका गिरिले संविधान बचाउनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए।

‘आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु। को प्रधानमन्त्री बन्ने भन्ने कुरामा मानौं प्रधानमन्त्री सडकमा फ्याकिएको छ। शेरबहादुर देउवा, महन्थ ठाकुर, पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त चिरञ्जीवि भइहाल्ने कुरा आएको छ। प्रश्न सरकारको होइन, सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन,’ उनले भने।

यो संविधानलाई बचाएर यसैमा टेकेर अगाडि बढ्नुपर्ने उनले बताए। ‘यो संविधानलाई बचाएर अगाडि बढ्ने हो कि २०४७ सालको संविधानजस्तै विजोग गर्ने हो?,’ उनले प्रश्न गरे, ‘अथवा चुच्चे नक्साजस्तै विजोगमा लैजाने हो।’

उनले चुनावमा जाने भए सबै मिलेर जानुपर्ने बताए। तर चुनावमा जाँदा सहमतिमा जानुपर्ने उनको भनाइ छ। सानो समूहले २०४७ सालको संविधान नमानेर आजको अवस्था आइपरेको उनले बताए।

उनले प्रधानमन्त्रीका कारण संकट आइपरेको बताएका छन्। ‘दिनप्रतिदिनको विवाद र भ्रष्टाचारको कथा जुहारीबाट हुँदैन। जनताका दु:ख र महँगीका दु:ख छन्,’ उनले भने, ‘यसका लागि हामी संसदमा जम्मा भएको होइन। म जम्मा भएको होइन। किन हामी यहाँ आइपुग्यौं?’

उनले संकटका बेला राष्ट्रिय सहमति गर्नुपर्ने बताए। उनले राष्ट्रिय सहमतिको सरकार बनाएर जान सकिने पनि बताए। ‘संसदलाई पूरा कार्यकाल चल्न दिऔं,’ उनले भने। उनले सकुनीले पासा फालेजस्तो नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

‘संसद विघटन गर्ने दिशामा नगइदिनुस्,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org