ताजा समाचार

केपी ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकट

नेपालले भनेः 'बालुवाटारको बालुवामा तेल छैन, बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन'

काठमाडाैँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताएका छन् ।

शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री ओलीको भड्काउ चिन्तनले कम्युनिस्ट आन्दोलन धरापमा परेको बताए ।

‘पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन सकिएन,’ नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छैन । बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन । छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेन ।’ पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन भेटघाट भए पनि छलफल सकारात्मक हुन नसकेको उनले बताए ।

अरुलाई सुन्न तयार नहुने ओलीमा ‘खाए खा नखाए घिच’ प्रवृत्ति हावी नेपालको आरोप थियो । ‘केपी ओलीको दम्भ कठामाडाैँको नवनिर्मित धरहराको उकालो चढ्दै छ,’ नेपालले भने,‘ओलीको भड्काउ चिन्तले पार्टी, मुलुक, लोकतन्त्र संकटमा परेको छ । ओलीका कारण लोकतान्त्रिक आन्दोलन संकटमा परेको छ ।’

त्यस्तै पार्टीमा आफू अल्पमतमा परेपछि बाटोमा हिँड्नेलाई समातेर ओलीले केन्द्रीय सदस्य बनाएको नेपालको भनाइ थियो । ‘अल्पमत परेपछि ओलीले बाटो हिँड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन्,’ नेपालले भने,‘बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छोडे ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org