ताजा समाचार

बेड छैन भनेर अभावको गीत गाएर राज्यको अभिभावकत्व पूरा हुन सक्दैन : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको बताएको छ ।

महामारीको समयमा सरकारले नागरिकलाई ढाडस र सहयोग गर्नुपर्नेमा गैह्रजिम्मेवार बनेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन । नेपाली कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजनको सिलिन्डरमा सरकारको वास्तविक क्षमता सार्वजनिक गर्न पनि कांग्रेसले आग्रह गरेको छ ।  “संक्रमणको विस्तार कुन हदसम्म हुन सक्दछ भन्ने बिज्ञ अनुमान र विश्लेषण छ । त्यो हद सामना गर्न बेड लगायतको बिस्तारमा सरकारसंग बजेट, पूर्वाधार या इच्छाशक्ति के अभाव छ । निजी  क्षेत्रका अस्पतालहरुलाई कोरोना विरुद्धको संघर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने । राजनैतिक दलहरु, संघसंस्था र समाजसंग सरकारले गरेको सहयोग अपेक्षा के हो,” विज्ञप्तिमा उल्लेख छ, “फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने । खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति तिब्रतर छ । यी समग्र विषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ़ ढंगले प्रस्तुत हुन जरुरी छ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोरोना संक्रमण विरामीका लागि बेड अभाव भएको जनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org