ताजा समाचार

आफैं भिड जम्मा गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु गैरजिम्मेवारः नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले नागरिकमा झन् त्रास फैलाएको बताएका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार नलागेर गम्भीर लापरबाही गरिरहेको आरोपसमेत पुनले लगाएका छन्।

सरकारले नै लापरबाही गरेर भिड जम्मा गरेको र पछि सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार काम भएको उनको भनाई छ। सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पुर्‍याउनुपर्ने पुनले सुझाए।

‘आफैँ लापरबाही गरेर, हजारौँ हजारको मास जम्मा गरेर, सुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो’ पुनले भने,‘यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन। यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्यउपचार, चेकजाँच, परीक्षणमा ध्यान दिनुपर्छ।’

नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइशोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्वस्तरको काम थाल्नुपर्ने पनि बताए। सरकारले अन्य राजनीतिक दलहरु र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलिय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी कोरोना संक्रमण अनियन्त्रित भएकाले संक्रमितको उपचार गर्न सरकारले नसक्ने आसय जनाएको थियो। उक्त विज्ञप्तिको सर्वत्र विरोध भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org