ताजा समाचार

लुम्बिनीमा पोखरेलकै नेतृत्वमा सरकार बनाउने एमाले दलको निर्णय

बुटवल । एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले  दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री रहेका पोखरेलले बिहान राजीनामा दिएपछि बुटवलको न्यू इरा होटलमा बसेको दलको बैठकले पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको एमाले प्रदेश अध्यक्ष लीला गिरीले जानकारी दिए ।

संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई जना सांसदहरू पनि सहभागी भएका थिए।

आइतबार बिहान  लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले एक घण्टा निबत्दै स्वीकृत गरेका थिए ।  वैशाख ६ मा विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पोखरेलले प्रदेश सभा अधिवेशन अन्त्य गरेका थिए । प्रदेश सभाको विशेष अधिवेशन सुरू हुने दिन बिहानै पोखरेलले राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्रमा पोखरेलले संविधानको धारा १६८ (१) अन्तर्गत नयाँ सरकार बनाउन मार्गप्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका छन् ।

पछिल्लो समय प्रदेश सभामा देखिएको अंकगणितलाई आधार मानेर मुख्यमन्त्री पोखरेलले आफ्नो नेतृत्वमा एकल सरकार बनाउन आइतबार राजीनामा दिएको देखिन्छ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभाका जसपाका चार र माओवादी केन्द्रका दुई जना सांसद निलम्बित भएका छन् । मौजुदा ८१ सदस्यीय प्रदेश सभामा सत्तारूढ एमालेसँग ४१ सांसद छन् । संविधाननको धारा १६८(१)  अनुसार बहुमतको सरकार बनाउन पुग्‍ने ४१ सांसद आफ्नो दलका भएपछि पोखरेलले अविश्वासको प्रस्ताव पेश हुने दिन नै राजीनामा दिएका एक सांसदले बताए ।

प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई (चारजना कारबाही पछि) र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org