ताजा समाचार

खोप वितरणमा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग परराष्ट्र मन्त्रीको आग्रह

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कम विकसित तथा विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको खोप वितरणकाे क्रममा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन्।

अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मनसँग सोमबार बिहान टेलिफोन संवादको क्रममा मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्धको अभियानमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै अबको प्राथमिकता खोपमा दिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

टेलिफोन संवादबारे मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिँदै भनेको छ, ‘अमेरिकाले गरेको सहयोगका कारण कोरोना भाइरसविरुद्धको अभियानलाई बिस्तार गर्न नेपाललाई राम्रो सहयोग पुगेको भन्दै उपविदेशमन्त्री विन्डी मार्फत अमेरिका सरकारप्रति कृतज्ञता व्यक्त गर्नु भयो। साथै उहाँले खोप वितरणमा नेपाललाई प्राथमिकतामा राख्नका लागि पनि आग्रह गर्नु भएको छ।’

अमेरिकी उपविदेश मन्त्री विन्डीले कोरोना भाइरसको महामारी विरुद्धको अभियानसँगै सामाजिक आर्थिक क्षेत्रको सुधारका लागि अमेरिकाले गर्दै आएको सहयोग थप बढाउनेमा वर्तमान प्रशासन प्रतिवद्ध रहेको उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

यस्तै उनले टेलिफोन संवादको क्रममा अमेरिकी सहयोगमा जारी तथा सुरु हुने क्रममा रहेका परियोजनाहरुप्रति पनि चासो व्यक्त गरेकी छन्।
टेलिफोन वार्ताको क्रममा द्विपक्षीय हित तथा आपसी सहयोग–सहकार्यका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ।

कुराकानीको क्रममा जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका प्रयासमा मिलेर काम गर्ने प्रतिवद्धता दुवै पक्षले व्यक्त गरेका छन्।

नेपालले आउँदो अक्टोबरमा सगरमाथा संवादको तयारी गरेको छ। यस्तै कोरोना भाइरसको महामारीका कारण असर परेको अर्थतन्त्र सुधारका लागि गर्न सकिने प्रयासबारे पनि दुई मन्त्रीबिच कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org