ताजा समाचार

पार्टीको निर्णय नमान्‍नेलाई कारबाही गर्छौं: कर्ण थापा

धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले केन्द्रको निर्णय नमान्ने प्रदेश सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन् । एमाले स्थायी समितिले गरेको निर्णयविपरीत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रदेश संसदीय दलले निर्णय गरेपछि केन्द्रको निर्णय नमान्नेलाई पार्टीको साधारण सदस्यबाटै निस्कासनसम्मको कारबाही गर्ने चेतावनी थापाले दिएका हुन् ।

‘एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो,’ इकागजसँग उनले भने, ‘तीन जनामन्त्रीलाई राजीनामा दिन पनि निर्देशन भइसकेको थियो । निर्देशनविपरीत निर्णय गरेको भन्ने सुन्नमा आएको छ । अब कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ एमाले स्थायी समितिको निर्णयविपरीत आज बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो ।

सुदूरपश्चिम सरकारमा एमालेका तीन जना मन्त्री छन् । सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

अध्यक्ष थापाका अनुसार गत चैत १५ गते नै नेकपा एमालेको प्रदेश कमिटी बैठकले पनि प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो । प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छ्न । उनीहरूमध्ये सभामुखबाहेक माधव नेपाल पक्षका १८ जना र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ६ जना छ्न ।

एमाले संसदीय दलको बैठकले सरकारबाट फिर्ता नहुने निर्णय गरेपछि तत्कालका लागि माओवादी नेतृत्वको सरकार जोगिएको छ । बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले स्थायी कमिटीलाई चुनौती दिदै तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो । बैठकले भविष्यमा आफ्मै नेतृत्वमा सरकार बनाउन अन्य दलहरूसंग छलफल गर्ने पनि निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org