ताजा समाचार

मुख्यमन्त्री पोखरेलले भने- पूर्ण बहुमतमा छु, गुम्यो भने एक मिनेट पदमा बस्दिन

केन्द्रमा देखिएको राजनीतिक असमझदारीको चक्रले प्रदेश सरकार पनि प्रभावित भएको भन्दै उनले आफूले प्रदेशमा त्यो संस्कार परिवर्तन गर्न बारम्बार अनुरोध गरेको बताएका छन् ।

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रमका विषयमा शुक्रबार आफ्नो धारणाको राख्दै उनले संसदभित्रको गणितलाई आफूले पूर्णविश्वास गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘राजनीतिकरूपमा संसदमा बहुमत गुमे म मुख्यमन्त्रीमा बस्दिन, त्यो प्रतिवद्धता मैले गरिरहँदा पनि अनावश्यक विवादले कसैलाई राम्रो गर्दैन, राजनीतिमा यस्तो गलत संस्कारको विकासले कसैलाई फाइदा हुनेछैन ।’

विपक्षी दलहरूले गठबन्धन नै बनाएर आफ्नो नियुक्तिका विषयमा प्रदेश प्रमुखलाई अनावश्यक विवादमा तानेकोमा असन्तुष्ट भएका मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश प्रमुखले कानून अनुसार गरेको विषयलाई अनावश्यक उचाल्ने र विवादित बनाउने गलत संस्कार शुरू भयो, प्रदेश प्रमुखले व्यक्ति होइन कानुनका धारा हेरेर नियुक्त तथा सपथ गराउनुभएको हो, यो विषय विपक्षी दलले केन्द्रमा हेरेर पनि जान्नु आवश्यक छ, व्यक्ति हेरेर गनेर हुने भए शेरबहादुर पहिले नै प्रधानमन्त्री भइसक्नुहुन्थ्यो, यो धारामा गइसकेपछि व्यक्ति होइन दल हेरिन्छ, कानून पल्टाउनुहोस् ।’

‘प्रदेश प्रमुखमाथिको अनावश्यक आरोपलाई सामान्य नठान्नुहोला, संसदीय राजनीतिक व्यवस्थामाथिको गम्भीर प्रहार हो, प्रदेश प्रमुख संस्था हो’, उनको सुझाव थियो । मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रमको समयमा विपक्षी दलका सांसदहरुले बहिस्कार गरेको विषयमा पनि असन्तुष्टि व्यक्त गरे ।

‘प्रदेशसभामा विपक्षीका तर्फबाट सचेतक मात्र सहभागी हुनुभयो, यो संसदीय अभ्यासमा पर्छ वा पर्दैन त्यसको मूल्यांकन आफैं गर्नुहोस् तर तपाईंहरुले उठाएको बहुमतको विषय यहाँबाट पनि प्रष्ट भएको छ’, उनले भने, ‘विपक्षी दलका सांसद सबै बाहिर बस्नुभयो, सत्तारुढ ४२ जना सांसद सहभागी भयौं अब मौजुदा संसदको ८३ सदस्यबाट ४२ जनाको उपस्थिति बहुमत हो कि होइन आफै बुझ्नुहोस् र अनावश्यक विवादलाई छोड्नुहोस् ।’

मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रममा कोभिड नियन्त्रण र उपचारलाई प्राथमिकता दिएको बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org