ताजा समाचार

माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाए, मेहनत खेर गयो: शंकर पोखरेल

काठमाडाैँ ।  नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् एमाले एकता कार्यदल सदस्य शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले बनाएको १० बुँदे प्रतिवेदनमा अहसमति जनाएको सार्वजनिक गरेका छन्।

पोखरेलले आइतबार फेसबुकमा स्ट्याटस लेख्दै तीन महिनाको मेहेनत खेर गएको उल्लेख गरेका छन्।

‘माधव नेपालले कार्यदललको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’, पोखरेलले लेखेका छन्।

एमालेको कार्यदलमा रहेका सदस्यहरूले आइतबार बिहान माधवकुमार नेपालसँग कोटेश्वरस्थित निवासमा भेट गरेका थिए। उक्त भेटमा शंकर पोखरेल पनि सहभागी थिए।

नेकपा एमालेमा माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई मिलाउन कार्यदल गठन भएको थियो। दश सदस्यीय कार्यदलले असार २७ गते मिलेर अघि बढ्ने सहमति गरेको थियो।

नेपालसँगको छलफलपछि कार्यदलमा रहेका सांसद गोकर्ण बिष्टले आफूहरूले १० बुँदे सहमति कार्यान्वयनका लागि नेपाललाई आग्रह गरेको बताए।

‘हामीले हिजो अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पनि कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्न भनेका थियौं,’ बिष्टले भने,‘आज माधव कमरेडलाई पनि १० बुँदेको कार्यान्वयनमा सबै इमानदार हुनुपर्ने बतायौं।’

कार्यदलमा रहेका दुबै पक्षका सदस्यहरू शनिबार ओलीलाई भेट्न उनको निवास बालकोट र आइतबार नेपाललाई भेट्न गएका थिए।

कार्यदलका सदस्यको भनाइमा नेता नेपालले कुनै प्रतिक्रिया नदिएको बिष्टले बताए।

पार्टी एकताको प्रक्रियामा रहेकाले प्रधानमन्त्री देउवालाई अहिले नै विश्वासको मत दिन नहुने पक्षमा उक्त कार्यदलमा रहेका नेपाल पक्षका सांसदहरू छन्। नेता नेपाल भने देउवालाई विश्वासको मत  दिने अडानमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org