ताजा समाचार

४२ सांसदकाे हस्ताक्षरसहित लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा माओवादी नेता केसीकाे दाबी, शपथ आजै

काठमाडाै । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी ‘साेनाम’ले मुख्यमन्त्रीमा दाबी  पेस गरेका छन् । चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु केसीले केही बेरअघि मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका ४२ सांसदको हस्ताक्षरसहित केसीले दाबी पेस गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दीन खानले जानकारी दिए ।

केसी रोल्पा प्रदेशसभा १ (क) बाट निर्वाचित सांसद् हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पुर्‍याएर नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर आह्वान गरेका थिए ।

सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ। प्रदेश प्रमुखले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी छ।

गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ। ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र कायम छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ। विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् । नवलपरासी पश्चिमबाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित सांसद अजय शाही बुधबारदेखि ४ दलको गठबन्धनमा खुलेपछि गठबन्धनमा सांसद संख्या ४२ पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org