ताजा समाचार

१४ सांसद पदमुक्तिको सूचना तत्काल टाँस्न एमालेको दबाब, सभामुखले भने- म बुझेर प्रक्रियामा लैजान्छु

काठमाडौं । नेकपा एमालेले आफूहरुले १४ सांसदलाई दल त्यागको कारबाही गरेको तीन दिन बितिसक्दा पनि सभामुखले सूचना प्रकाशन नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।

दलको ह्वीप उल्लंघन गर्ने सांसदलाई सम्बन्धित दलले दल त्यागको कारबाही गरेर संसद सचिवालयमा जानकारी गराएमा सभामुखले त्यस्तो सूचना संसद बैठकमा पढेर सुनाएपछि  वा सूचना टाँस गरेपछि ती सांसद पदमुक्त हुने कानूनी व्यवस्था छ ।

तर एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई दल त्यागको कारबाही गरेर भदौ १ गते नै जानकारी गराइसकेपनि सभामुखले अहिलेसम्म किन सूचना प्रकाशन नगरेको भनी प्रश्न गरेको छ ।

आफूहरुले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेकाले भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरु जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई दल त्यागको कारबाही गरेको सूचना संसदमा दिएको थियो ।

‘सो निवेदन संसद सचिवालयमा भदौ १ गते दिउँसो ४ बजेर २० मिनेटमा दर्ता भएको थियो, आज ७२ घण्टा पुग्न लागेको स्थिति छ,’ प्रमुख सचेतक भट्टराईले बताए ।

सभामुखले यसअघि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई दलले कारबाहीको सूचना दिएको २४ घण्टा नबित्दै र तत्कालीन माओवादी केन्द्रका सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गैरीशंकर चौधरीलाई कारबाहीको सूचना दिएको ७२ घण्टाभित्रै सूचना प्रकाशित गरेको भट्टराईले बताए ।

एमाले नेताहरुले आफूहरुले दिएको निवेदनमा भने किन निर्णयमा ढिलाइ भएको भनी प्रश्न गरेका छन् । उनीहरुले सभामुखले माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन स्वीकृत होस् भनेर पर्खिएको हुनसक्ने भन्दै त्यसो गरेमा आफूहरु चुप लागेर नबस्ने बताएका छन् ।

‘सभामुखलाई निर्वाचन आयोगबाट दल दर्ता स्वीकृत होस् भन्ने कुनै छुट छैन,’ उनले भने, ‘यो दलीय व्यवस्था हो । दलले निष्कासन गरेपछि स्वतः कार्यान्वयनमा जाने हो, यसमा सभामुखले त खाली सूचना टाँस्ने मात्र हो ।’

प्रमुख सचेतक भट्टराईले अघि भने, ‘सूचना टाँस्ने कामलाई पनि लिंगरिङ गरेर यदि एमाले विभाजित होस् त्यसलाई म मलजल गर्छु, सहयोग र्छु भन्ने हो भने नेकपा एमाले कुनै पनि हालतमा चुप लागेर बस्दैन ।’

सभामुख सापकोटाले आफूले यो विषय छिटो टुंग्याउने आश्वासन दिएको पनि भट्टराईले बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org