ताजा समाचार

माधव नेपाललाई ‘पात’को संज्ञा दिँदै ओलीले भने – एक-दुई पात पहेंलिएर खस्दैमा रुख ढल्दैन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेका नेता माधवकुमार नेपालले पार्टी छाडेर जाँदैमा केही फरक नपरेको बताएका छन्।

ललितपुरमा आयोजित युवा संघको भेलालाई शनिबार सम्बोधन गर्ने क्रममा नेता नेपाललाई कटाक्ष गर्दै ओलीले भने, ‘एकदुई वटा पात खस्दैमा पीर मान्नुपर्ने अवस्था छैन। रुखबाट पात झरेर केही हुँदैन। नयाँ-नयाँ पात पलाउँछ।’

निर्वाचनमा एमालेलाई कसैले जित्न नसक्ने भएकाले जति मोर्चा बनाएर आए पनि एमालेले नै जित्ने दाबी गरे। एमाले जनताको पार्टी भएकाले विकासको एजेण्डा नभएकाहरुलाई जिताउनुको कुनै अर्थ नभएको उनकाे भनाइ छ।

ओलीले दाबी गर्दै भने, ‘एमालेसँग एक्लै कसैले नचिताए हुन्छ। त्यसैले मिलेर मोर्चा बनाएर लड्ने रे! एकसय बीस जनाको मोर्चा बनाएर एमालेसँग लड्ने ? अरुले मोर्चा कसून्। नेकपा एमालेलाई त्यसले फरक पादैन।’

आफूलाई षड्यन्त्र गरेर हटाएको हुनाले आगामी निर्वाचनमा एमालेले त्यसको बदला लिने उनको जिकिर छ ।

‘कुन ठाउँमा को उम्मेदवार हुने टुंगो छैन। अरूसँग प्रतिस्पर्धा गर्ने हो। जहाँ एमाले उठ्छ, त्यहाँ जित्नुपर्छ। हामीले अहिल्यैदेखि त्यो वातावरण बनाउनुपर्छ’ ओलीको भनाइ छ।

नेपाल समूहप्रति लक्षित गर्दै ओलीले कम्युनिष्ट सरकार ढालेर पार्टी फुटाउन लाग्ने ‘कुलङ्गार’हरु पार्टीमा जन्मिएको आरोप लगाए।

ओलीले भने, ‘पार्टीलाई दुई तिहाईको अवस्थामा पुर्‍याइयो। अधिकांश स्थानमा आफ्ना जनप्रतिनिधि बनाइयो। संघ र प्रदेशमा आफ्नै पार्टीको सरकार ढाल्न लाग्ने कुलङ्गार नेता पार्टीमा जन्मिए। सूर्य चिन्हलाई धोका दिएकाहरुले नयाँ दलको पुर्जा लिएर हिँडे।’

देश बनाउने अभियान लिएका पार्टीलाई छाडेर नयाँ पुर्जा लिएर घर मालिक बनेको ओलीले आरोप लगाए।

‘आफ्नै घरको राजा हुनको लागि प्रतिक्रियावादीहरुसँग मिलेर पार्टी विभाजन गरे। त्यस्ता मान्छेलाई सम्झाएर बुझाएर सकिँदैन। एमाले सिध्याउँछु भनेर कसम खाएपछि विदेशीको दलाल बनेपछि सम्झाएर नहुने रहेछ’

ओलीले नेता नेपाललाई संकेत गर्दै भने, ‘हामीले सम्झाएर बुझाएर ल्याउन खोजेका हौँ। मैले पार्टीमा ल्याउनका लागि धाएर जहाँ जहाँ भन्यो त्यही पुगेर भेटेँ। कति पटक फोन गरेँ । पानी समातेर धरोधर्म मान्दिनँ भनेर कसम खाएपछि सकिँदैन।’

एमाले ढोडका लौरा समातेर गण्डकी, कोशी तर्दैन भन्दै ओलीले आफूहरुसँग पौडिएर तर्न सक्ने क्षमता रहेकाे दाबी गरे।

अहिले अलमल गरेर बस्ने समय नभएकाले युवाहरुलाई अलमलमा नपरि पार्टीको काम लाग्न ओलीले निर्देशन दिए। पार्टी फुटेको नभएर केही बिग्रिएका मान्छेहरु चोइटिएर गएको दाबी गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org