ताजा समाचार

एकीकृत समाजवादीका नेताहरूको जिम्मेवारी बाँडफाँट, प्रदेश इञ्चार्ज पनि तोकियो

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो । नेकपा एसले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मार्फत अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल रहेको स्थायी कमिटी गठन गरिएको छ। एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरू चयन गरेको छ ।

‘पार्टीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्म काम गर्नको निम्ति अध्यक्ष कमरेड माधवकुमार नेपाल, वरिष्ठ नेता कमरेड झलनाथ खनाल र नेकपामा हुँदा स्थायी कमिटी सदस्य रहनु भएका कमरेडहरु मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल, प्रमेश हाल रहनु भएको स्थायी कमिटी गठन गरिएको छ’ अपानीमा उल्लेख गरिएको छ । केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी भने गंगालाल तुलाधारले पाएका छन् ।

प्रदेश इञ्चार्ज तोकियो

प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपाने चयन भएका छन् । यसैगरी गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला छन् । सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।

उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् । डा. विजय पौडेलले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।

पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लगायतका दस्तावेज मस्यौदा गर्न झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, रामकुमारी झाँक्री र गणेश विक छन् । यही समितिलाई निर्वाचन आयोगमा पेस गरिएका दस्तावेजहरु परिमार्जनको जिम्मा पनि दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org