ताजा समाचार

अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरोधी षडयन्त्रको अखडा ? : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को आगामी अधिवेशनको पहिलो दिन भदौ २३ गते प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबारे गम्भीर प्रश्न उठाउने बताएका छन् ।

एमालेविरुद्धको गठबन्धनको सहयोगीको भूमिकामा सभामुख सापकोटा लागेको भन्दै प्रमुख प्रतिपक्षले प्रश्न उठाउने ओलीले बताएका हुन् ।

युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने, ‘पर्सि संसद् सुरु हुँदैछ । हामीले सभामुखलाई सोध्नैपर्ने हुन्छ, सभामुख हो कि कुनै पार्टीको कार्यकर्ता हो ? गठबन्धनको मतियार हो ? एमालेविरुद्ध जालीझेली, साँठगाँठ गर्ने मोहरा हो ? त्यो सोध्नुपर्ने छ ।’

प्रमुख प्रतिपक्ष एमालेको विरुद्धमा सभामुख सापकोटा हिस्सेदार भएको भन्दै त्यसका बारेमा प्रश्न उठ्ने ओलीले बताएका हुन् । ‘प्रमुख प्रतिपक्ष पार्टी फुटाउने षडयन्त्रमा सरिक हुने, सामेल हुने, षडयन्त्रको हिस्सेदार, भागीदार हुने, एउटा षडयन्त्रको अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह गर्न सकिँदैन,’ उनले थपे, ‘त्यो नभएपछि सभामुखको बारेमा गम्भीर प्रश्न हामीले उठाउनैपर्ने हुन्छ । अग्निसप्रसाद सापकोटा सभामुख हो कि गठबन्धनको प्यादा हो ? एमालेविरोधी हो कि एमालेविरुद्धको षडयन्त्रको अखडा हो ?’

प्रतिनिधिसभा पुनःस्थापना भएपछिको प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख सापकोटाले दिएको अभिव्यक्तिप्रति पनि एमाले अध्यक्ष ओलीले आक्रोश व्यक्त गरे । सभामुख सापकोटाले प्रमुख प्रतिपक्षविरुद्ध हमला बोलेको ओलीको भनाइ थियो ।

‘संसद् सुरु हुन्छ अनि सभामुखको आसनबाट यो अधिनायकको पराजय हो भन्छ, संसद् पुनःस्थापनापछि । त्यसप्रकारको भाषा बोलिन्छ ? प्रमुख प्रतिपक्षविरुद्ध त्यस्तो हमला बोलिन्छ ?,’ ओलीले प्रश्न गरे ।

सापकोटालाई सभामुखको पदका लागि चाहिने मूल्य, मान्यता र महत्त्व थाहा नभएको ओलीको आरोप थियो ।

माधवकुमार नेपालसहित १४ जना सांसदलाई एमालेले कारबाही गरेको अवस्थामा सभामुखले सूचना टाँस्ने काम नगरी विचाराधीन राखेको भन्दै ओलीले आक्रोश व्यक्त गरेका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org