ताजा समाचार

वार्ता र संवादबाट एमाले भाग्न खोजेको सर्वदलीय बैठकको निष्कर्ष

सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरु उपस्थित हुनुभयो तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहरुले संसद अवरोध गरिरहनुभएको छ’, बैठकपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त यो भन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो । यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ ।’

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमाले अनुपस्थित भएपनि फेरिफेरिका बैठकमा उपस्थित हुने अपेक्षा व्यक्त गरेका थिए । ‘फेरि फेरि पनि म उहाँहरुलाई आमन्त्रण गर्छु, उहाँहरु आउनुहुनेछ र आफ्नो कुराहरु राख्नुहुनेछ’, देउवाको भनाइ उदृत गर्दै कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए ।

त्यस्तै बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि नेकपा एमाले र उक्त पार्टीका नेता केपी शर्मा ओलीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बैठकले आग्रह गरेको छ । नेकपा एमालेको अवरोधका कारण संघीय संसद लगातार अवरुद्ध हुदै आएको छ । प्रतिनिधिसभा संसदमा ३३ वटा र राष्ट्रियसभामा पेश भएका २७ वटा विधेयक अलपत्र छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org