ताजा समाचार

गुटको नेता को हो थाहा भएन, हाम्रो नेता तिलकराज हो भन्दै विद्यार्थी सम्मेलनमै बहस

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व विवाद थप पेचिलो हुने संकेत देखिएको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले विद्यार्थीको नेतृत्व चयनको जिम्मा प्रचण्डलाई दिने निर्णय गरेसंगै संगठनमा थप पेचिलो बहस सुरु भएको छ ।

बन्द सत्र चलिरहेपनि नेतृत्व पार्टीले टुंग्याउने भएपछि हलका अधिकांश प्रतिनिधिहरुको विवेकमा विश्वास नगरिएको भन्दै आक्रोश व्यक्त हुन थालेको राष्ट्रिय सम्मेलन प्रतिनिधि विकास खड्काले जनाए ।

`अहिले हलका सबै कमरेडहरुले नेतृत्व आफै चयन गर्न पाउनु पर्छ भन्ने मत बलियो बनाउदै लैजानु भएको छ । गुटको नेता को हो थाहा भएन । आम रुपमा विद्यार्थीको ग्राउण्डमा भिजेको कुशल संगठक तिलकराज भण्डारी नै हाम्रो नेता हो भन्ने विषय जबर्जस्त उठ्न थालेको छ´, खड्काले भने ।

`अखिल क्रान्तिकारी भित्रपनि वाईसीएल नेपालको जस्तो प्रकरण दोहोर्‍याउन खोजिएको आशंका उत्पन्न भएको छ । यसलाई रोक्न सकिएन भने विद्यार्थी आन्दोलन पनि धरासयी बन्ने पक्का छ´ अर्का एक प्रतिनिधिले भने ।

सम्मेलनले नेतृत्व टुंग्याउने जिम्मा नपाएपछि पार्टीको हस्तक्षेप बढ्ने भन्दै क्रान्तिकारीमा असन्तुष्टी बढ्दै गएको छ ।

`हामीलाई गुट अस्वीकार्य छ । इतिहासमा योगदान सबैले दिएका छन् । तर, त्यो योगदानलाई गुटको पगरी भिराएपछि समर्थन गर्न सकिन्न । त्यसैले गुटको नेता जोसुकै भएपनि आम संघर्षशील, पार्टी, नीति र नेतृत्वप्रति प्रतिबद्ध कार्यकर्ताहरुको नेता तिलकराज भण्डारी हो । तिलकले कहिल्यै गुटको आशीर्वाद लिन चाहेनन् । उनी जहिल्यै पनि नीति र नेतृत्वप्रति वफादार बने । कसैको छाता ओढ्न खोजेनन् । यही प्रवृत्तिले मात्रै अखिल क्रान्तिकारीलाई साँच्चिकै क्रान्तिकारी, प्रचण्डले भनेझै समाजवादी क्रान्तिको अग्रदस्ता र जनताका छोराछोरीको संगठन वनाउन सक्छ । गुटमा रमाउनेहरुले इतिहास रच्दैनन्´, एक अर्का नेताले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org