ताजा समाचार

अर्ली इलेक्सनमा जानु जरुरी छैन : अध्यक्ष नेपाल

काठमाडाैँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन)मा जानु जरुरी नभएको बताएका छन्।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र संघीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिए।

‘किन अर्लीमा जानु? अर्लीमा जानु जरुरी छैन। मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानुनी जटिलता छ कि छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन‚’ उनले भने‚ ‘तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो।’

निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उनले जोड दिए। माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरे।

‘वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिष्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला‚’ अध्यक्ष नेपालले भने‚ ‘त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन। चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ।’

एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गरे। एकीकृत समाजवादीलाई विचार र नीतिप्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उनको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org