ताजा समाचार

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा, धवलशम्शेरको साथ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीका प्रभावशाली धवलशम्शेर राणासँगको गठजोडमा उनले अध्यक्षको चुनाव लड्न लागेका हुन् ।

आज काठमाडौंको एक होटलमा आयोजित कार्यक्रममा लिङ्देनले पार्टीका आम नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूको भावनाअनुसार उम्मेदवारी दिन लागेको बताए ।

‘समयले परिवर्तन खोजेको छ, राप्रपाको ३१ वर्षको इतिहासमा समग्रमा असफलताको इतिहास जस्तो भयो,’ उनले भने, ‘यो समयमा ५१ सालमा राप्रपा थापा र चन्द एकीकृत राप्रपाका कार्यकर्ता खुशीले रमाएका थिए । त्योदेखि आजसम्म कार्यकर्ताहरूले एक दिन पनि खुसीले हास्न पाइएन । दुब्लाउँदै आउने क्रममा आज राष्ट्रिय पार्टी पनि रहेन ।’

लिङ्देनलाई अध्यक्षमा नेपालगञ्जका उपमहानगरपालिकाका मेयरसमेत रहेका नेता धमवशम्शेर को साथ रहने भएको छ । हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवार दिने निश्चित छ ।

यसअघि धवलसम्शेरले पनि आफूलाई अध्यक्षकै आकांक्षीका रूपमा उभ्याएका थिए । तर, लिङ्देनसँगको समझदारीमा उनी महामन्त्री लड्न तयार भएका छन् । लिङ्देन र राणाको गठजोड कमल थापाका लागि चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ ।

अन्य दुई अध्यक्षको अडान अहिलेसम्म प्रष्ट भइसकेको छैन । तर, राप्रपाको युवा पुस्तामा लिङ्देन बढ्दो रुपमा लोकप्रिय छन् । पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भनने मत बलियो छ ।

लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए ।

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् ।

पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । यो समूहले पुरानै व्यक्ति राप्रपाको नेतृत्वमा दोहोरिए पार्टीको अस्तित्व संकटमा पर्न सक्ने आंकलन गरेका छन् ।

राप्रपाको महाधिवेशन १५-१७ मंसिरमा हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org