ताजा समाचार

राजादेखि विप्लवसम्म अटाउने प्रणाली चाहियोः कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टी परिवर्तनको विरोधी नभएको दाबी गरेका छन् ।

तर, अहिलेको व्यवस्थाको समीक्षा हुनुपर्ने भन्दै उनले राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली देशलाई आवश्यक परेको बताए ।

राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले राजसंस्थाको अस्तित्व नेपालको भूराजनीतिक वाध्यता भएको उल्लेख गरे । यदि यो वाध्यतालाई बिर्सिएमा नेपालको अस्तित्व खतरामा पर्ने उनको चेतावनी थियो ।

‘नेपालको राष्ट्रियता र एकताको प्रतिकका रुपमा, साझा संस्थाका रुपमा राजसंस्था हुनुपर्छ,’ थापाले भने । राजासंस्थाको कुरा गर्दा आफूहरूले ६३ सालभन्दा अगाडिको अवस्थामा फर्कन नखोजेको उनले बताए ।

‘हामी पुरानो व्यवस्थामा फर्किन खोजेको होइन । सबै नेपाली अटाउने मौलिक प्रजातन्त्रको कुरा गरेका हौं । राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणालीको निर्माण गरौं,’ थापाले भने ।

उनले देशको राष्ट्रियता तथा राष्ट्रिय अस्मिता संकटपूर्ण अवस्थामा रहेको बताए । बाह्य शक्तिको प्रभाव बढेको र विदेशीको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा भएको उनको भनाइ थियो । वीपी कोइरालाले भनेजस्तै अहिले पनि देशलाई राष्ट्रिय मेलमिलापको आवश्यकता भएकोमा उनले जोड दिए ।

‘परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारका बीचमा सामञ्जस्यता अहिलेको आवश्यकता हो,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org