ताजा समाचार

लिङ्देनलाई बधाई दिँदै कमल थापाले भने : महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको प्रमाण सुरक्षित छ

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिँदै महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको प्रमाण आफूसँग रहेको बताएका छन्।

थापाले विज्ञप्ति जारी गर्दै पार्टीको एकता महाधिवेशन भव्यताका साथ सम्पन्न भएको र महाधिवेशन सफल तुल्याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन्।

महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको उनले बताएका छन्। विगतमा पटकपटक विभाजनको पीडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुँदैन भन्ने महाधिवेशनको  स्पष्ट सन्देश र संकल्प रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा आफ्नो निरन्तर सकारात्मक सहयोग रहने बताएका छन्।

‘केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु। फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा  भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ’, थापाले भनेका छन्।

उनले यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिनसमेत अनुरोध गरेका छन्। ‘पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धी मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गम्भिर आघात पुगेको छ। नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ’, विज्ञप्तिमा उल्लेख छ।

शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप भएको यथेष्ट प्रमाण सुरक्षित रहेको उनको दावी छ। ‘भोली राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ। विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो। म नैतिक र धर्मसंकटमा परेको छु।‘

राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर आफूलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको उनको आरोप छ। राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना कहिल्यै सफल हुन नदिने उनले बताएका छन्।  राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा अब राप्रपा भित्र बहस शुरू हुने उनले बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org