ताजा समाचार

आफ्नो समूहको बैठक छाडेर पौडेल पुगे सिटौला निवास

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर चण्डोलस्थित कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन्।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको बैठकबाट पौडेल खाना खान भनेर बाहिरिएका थिए।

महाधिवेशन नजिकिँदै गर्दा सिटौला समूह पनि छलफलमा जुटेको छ। आजको छलफलबाट सिटौलाले आफैंले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ। सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्ने निश्चित जस्तै देखिएको छ ।

सिटौला आफैंले सभापतिमा उम्मेदवारी दिने पनि कुरा गरेका छैनन्। क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनहरु चलिरहँदा धेरै ठाउँमा सभापति देउवा र पूर्वमहामन्त्री सिटौला समूहबीच गठबन्धन बनेको छ । जिल्लादेखि प्रदेशसम्म भएको देउवा–सिटौला गठबन्धनले अपेक्षाकृत नतिजा पनि ल्याएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट चारमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन । त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् ।

पौडेल समूहमा आइतबारदेखि नै निरन्तर छलफल भइरहेको छ । सभापतिका चार आकांक्षीहरूबीच सोमबार छुट्टै छलफल भएको थियो । मंगलबार चाक्सीबारीस्थित नेता सिंहको निवासमा आकांक्षी नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । बुधबार नै पौडेल समूहले साझा उम्मेदवार खडा गर्नेगरी छलफल अगाडि बढाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org