ताजा समाचार

पार्टीमा निरंकुशता लाद्नेहरुले हारे : भीम रावल

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले दसौँ महाधिवेशनमा आफ्नो एजेण्डाले जितेको बताएका छन्।

गृहजिल्ला अछामको साँफे बगगरमा एमालेका कार्यकर्ताहरुलाई बुधबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘जनताको अपार माया र स्नेहबाट अघि बढेको छु। म पटक पटक विजयी भएको हो। हामीले यहाँबाट काँधमा चढाएर कयौँलाई संसदमा पुर्‍याएका हौँ’, उनले भने, ‘मैले यो राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको पक्षमा आवाज उठाएको थिएँ। मिचिएका सीमानाबाट विदेशी हस्तक्षेप हट्नुपर्छ भनेको हो। महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट म विचलित भएको छैन।’

उनले मातृभूमिबाट विदेशी बुट बजारिरहँदा, लिम्पियाधुरामा भारतीय अतिक्रमण भइरहँदा केही नेताहरु एमसीसी पास गरेर आफ्नो पद बचाउन लागेका आरोप पनि लगाए। तर उनले यो देशलाई उपनिवेश हुन नदिने पनि बताए।

उनले एमालेको दसौँ महाधिवेशनमा जनताको बहुदलीय जनवाद सुहाउँदो गतिविधि नभएको पनि बताए। ‘दसौँ महाधिवेशनमा मैले अध्यक्ष पदमा उम्म्दवारी दिएको थिएँ। प्रतिनिधि चयनदेखि उम्मेदवारी र चुनाव हुने शिलशिलामा के के भए? एउटा कम्युनिष्ट पार्टीलाई सुहाउने कुरा भए कि भएनन् त्यहाँ?’, उनले भने, ‘हाम्रो पार्टीको बहुदलीय जनवादले प्रत्येक पार्टीलाई प्रतिस्पर्धामा जाने अधिकार दिएको छ। चुनाव लड्न पाउँदैनस्, उम्मेदवारी दिन पाउँदैनस् भन्छन् भने त्यो निरंकुशता हुन्छ।’

उनले आफू अध्यक्षमा हार्दैमा केही फरक नपर्ने पनि बताए। ‘आठौँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा लडेका थिए। म उहाँकै समूहबाट उपाध्यक्षमा लड्दा हारेँ। अहिलेको महाधिवेशनमा देशभक्तिको झण्डा उठेको छ’, उनले थपे, ‘तर मैले एमालेमा जितेको छु, हारेको छैन। पदमा कसले हारेको छैन र? आठौँमा ओलीसँगै हामीले हारेका हौँ। मान्छे त्यतिबेला हार्छ जब उसको देशभक्ति डगमगाउँछ।’

रावलले गुटको स्वार्थलाई मानि राख्ने मानिसहरु चितवनमा हारेको पनि बताए। ‘गुटको स्वार्थलाई माथि राख्ने मानिस पराजित हुन्छ। म चितवनको महाधिवेशनबाट पराजित भएको छैन’, उनले भने, ‘स्वच्छ निर्वाचनभन्दा अनेक प्रकारका अनियमित अवाञ्छित गरेर पनि जितेँ भन्ने लाग्ला। तर मेरो एजेण्डाले जितेको छ मैले हारेको छैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org