ताजा समाचार

पार्टी एकताका लागि सभापतिमा देउवाको निरन्तरता : गृहमन्त्री खाँड

काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको हितका लागि पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै खाणले यसो भनेका हुन्।

‘राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको वृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवाको निरन्तरता आवश्यक छ,’ उनले भने।

यो महाधिवेशनले एैतिहासिक निर्णय गर्दै सभापतिमा देउवालाई नै निरन्तरता दिने निर्णय गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।

गृहमन्त्री खाणले आगामी स्थानीय तहको निर्वाचन र आम निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न कांग्रेसमा एकता र वर्तमान गठबन्धनको स्थिरता आवश्यक रहेको बताए।

‘स्थानीय तहको निर्वाचन, आम निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाली कांग्रेसमा एकता र गठबन्धनको स्थिरता आवश्यक छ’, उनले भने।

वर्तमान पाँच दलीय सरकार कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर बनेको छ। तर जनमोर्चा सरकारमा छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org