ताजा समाचार

प्रचण्ड र माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेः शंकर पोखरेल

काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको आरोप लगाएका छन्।

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको दावी गरे। उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप समेत लगाए।

महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रुपमा रहेको उल्लेख गरे। ‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ, कुरा क्रान्तिकारीका गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्ने वित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्युत भएर दक्षिणपन्थीको सेवामा सर्मपित गरिहाल्ने’, उनले भने, ‘यो इतिहासको शिक्षा हो। उग्रताको कुरा गर्नेहरु अन्तिममा दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजहरुले भन्ने गरेका थिए त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डको जीवनमा पनि देखियो । हाम्रै आन्दोलनको लामो समयको नेताका रुपमा रहनुभएका माधव नेपाल जसलाई हामीले ३ कार्यकाल पार्टीको प्रमुखको रुपमा जिम्मेवारी सुम्प्यौँ, उहाँलाई नेता मान्यौँ । उहाँले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो।‘

महासचिव पोखरेलले एमालेलाई तीनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको बताए। एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको भन्दै उनले सो षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकता रहेको औँल्याए। पार्टीले अघि सारेको एजेण्डा र लक्ष्यका कारण बहुमत जनताको समर्थन प्राप्त गर्न सम्भव रहेको उनको भनाई छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org