ताजा समाचार

ओलीले देशलाई अस्थिरतातर्फ धकेल्न खोजे : पौडेल

काठमाडौँ । कांग्रेस नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन् ।

पौडेलले सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्दै ओलीले महिनौंदेखि संसद्‍मा अवरोध गरेर संसद् विघटन सही थियो भनेर सिद्ध गर्न खोजेको बताएका हुन् ।

पौडेलले लेखेका छन्, ‘६ महिनाको समयमा दुई-दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’ त्यस्तै सरकारले पनि संसद् सञ्चालन गरेर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास गर्नुपर्ने पौडेलको भनाइ छ । बीचैमा संसद् अधिवेशन अन्त्य गरेका ओलीको नियतिसामु समर्पण गरेको ठहरिने पौडेलको भनाइ छ ।

पौडेलले अगाडि लेखेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु । देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणाली नै सिद्धयाउन खोजिएको देखिन्छ ।

संघीय संसद्को दसौं अधिवेशनमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध जारी राखेको छ । दसौं अधिवेशनको पहिलो दिन मंगलबार एमालेले विरोधलाई निरन्तरता दिए पनि सरकारले भने दुई सातअघि जारी गरिएका ६ वटा अध्यादेश संसद्मा पेस गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले भदौ २३ देखि संसद् अवरुद्ध गर्दै आएको हो । सभामुख सापकोटाले २ बजे बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध जनाए । सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त संघीय संसद् आह्वानको पत्र पढेर सुनाउन थालेपछि उनीहरू आफ्नो सिटमा बसेका थिए ।

एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद्मा सिफारिस गरेको थियो । संसद् सचिवालयले सूचना नटाँस्दै १४ सांसदसहितले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन् । अहिले फरक पार्टीमा रहेका सांसदलाई कारबाही गर्नु कानुनसम्मत नभएको सभामुख सापकोटाले बताउँदै आएका छन् । संसद् बैठक पुस ६ सम्म स्थगन गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org