ताजा समाचार

बालुवाटार बैठक : तीन नेतालाई एमसिसी सम्झौता अध्ययन गर्ने जिम्मा

काठमाडाैँ । एमसिसी सम्झौताबारे अध्ययन गरी सुझाब दिने जिम्मा सत्तारुढ तीन दलका तीन नेताले पाएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसिसी अध्ययन गरी सुझाब दिने जिम्मा दिएको हो। बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने उपस्थित थिएन।

समग्रपक्षको अध्ययन गरेर सुझाब पेस गर्ने खनालले जानकारी दिए। सुझाब दिने समयवधि भने तोकिएको छैन। भोलिदेखि नै अध्ययनको काम सुरु गर्ने खनालले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीबारे प्रस्ताव गरेका थिए। बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमकिपाले एमसिसी यथास्थितिमा पारित गर्न नहुनेमा जोड दिएका थिए। खनालले भने, ‘एमसिसी सम्झौताका  आपत्तिजनक प्रावधान नसच्याईकन पारित गर्न नहुने कुरा स्पष्ट राखेका छौँ।’

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि एमसिसी संसदमा पेस भएपछि मात्रै धारणा बनाउने बताएका थिए।

यसअघि तत्कालीन सत्तारुढ नेकपाले खनालको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलले संशोधनविना एमसिसी पारित गर्न नहुने सुझाब दिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org