ताजा समाचार

राष्ट्रिय सभामा एमालेको अवरोध कायमै, अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । राष्ट्रिय सभा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेपछि अनिश्चितकालका लागि स्थगित भएको छ ।

सोमबार १ बजे बसेको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदहरूले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटकपटक आग्रह गरेका थिए । ‘यहाँहरूले आफ्ना कुरा राखिरहनुभएको छ । राष्ट्रको ध्यान समग्र सदन सञ्चालनको बारेमा पक्कै पनि गएको छ । राष्ट्रिय सभामा आफ्ना भनाइहरू पनि राखौं र नियमित ढंगले हाम्रा जे विधेयक छन् अगाडि बढाउनका लागि मुख्यगरी प्रमुख प्रतिपक्षी दलका माननीयहरूलाई बसेर सहयोग गर्न आग्रह गर्दछु,’ उनको आग्रह थियो, ‘हामी सदनमा देशको बारेमा, विकासको बारेमा, समग्र राष्ट्रको अर्थतन्त्रको बारेमा छलफल गरौं, विचार राखौं र जसले गर्दा देशलाई अगाडि बढाउन मद्दत पुग्छ र सदनको मर्यादा पनि कायम हुन्छ । त्यसैले बस्न आग्रह गर्दछु ।’

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गरेको आग्रह एमालेका सांसदहरूले मानेनन् । त्यसपछि अध्यक्ष तिमिल्सिनाले अनिश्चित कालका राष्ट्रिय सभाको बैठक स्थगित भएको सूचना सुनाएका थिए ।

राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ आउनुपर्ने बताएका थिए । उनले सत्तापक्षबाट भन्दा पनि प्रतिपक्षबाट बढी अपेक्षा गरिएको भन्दै असन्तुष्टि राखेका थिए । ‘प्रमुख प्रतिपक्षी दल जिम्मेवार हुनुपर्ने हो कि सत्तापक्ष ? प्रमुख प्रतिपक्षबाट बढी अपेक्षा गरिएको छ,’ उनले भनेका थिए, ‘१० औँ अधिवेशन अवरुद्ध गर्ने क्रममा जुन विषय उठाएका छन् ती अझै यथावत छन् । हामीले कारबाही गर्नका लागि उठाएका विषय यथावत छन् । देशको ठूलो पार्टी एमालेले भनेका कुरा सरकारले सुनेको छैन ।’

सर्वदलीय बैठक बोलाउँदा पनि देखावटी काम गरिएको दाहालको भनाइ थियो । उनले माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेसम्म विरोध जारी रहने जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org