ताजा समाचार

फेरि अध्यक्ष चुनिएपछि प्रचण्डले भने– नेतृत्वको रूपमा यो अन्तिम अवसर हुनेछ

काठमाडौं । नेकपा (माअ‍ोवादी केन्द्र)को नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि यो अन्तिम अवसर हुने बताएका छन् । ०४६ सालमा नेकपा मसालको महामन्त्री भएर नेतृत्व सुरु गरेका प्रचण्डले माअ‍ोवादी केन्द्रमा पुन: अर्को कार्यकालको नेतृत्व पाएका छन् ।

“आठौँ महाधिवेशनबाट साथीहरूले मलाई महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ । यो ऐतिहासिक जिम्मेवारी देश र जनतामा समर्पित गर्नेछु,” अध्यक्ष प्रचण्डले भने, “यो मेरालाई अन्तिम अवसर हो देश र जनताका लागि काम गर्ने । सम्भवत: यो नै मेरा लागि अन्तिम चुनौती पनि हुने छ ।”

उनले आफ्ना तर्फबाट अन्तिम अवसर र चुनौती भएको बताउँदै अर्कोपटक आफ्नो इच्छाले अध्यक्षको प्रत्यासी नबन्ने संकेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले आफू लामो समय अध्यक्ष भएर फरक भूमिकाको अपेक्षा गरेपनि राजनीतिक परिस्थितिले त्यसो गर्ने छुट नदिएको भन्दै आफ्नो नेतृत्वको आवश्यकता पुष्टि गर्ने प्रयास गरेका छन् ।

“म धेरै लामो समयदेखि पार्टीको नेतृत्वमा छु । यसक्रममा इतिहासका धेरै घटनाक्रमहरूको नेतृत्वगर्ने अवसर मलाई प्राप्त भएको छ,” अध्यक्ष दाहालले भने, “इतिहासका गम्भीर मोडहरूमा साक्षात्कार गर्ने अवसर जनताले पनि दिएको हो । अहिले अध्यक्षको सपथ लिएर जनतालाई सम्बोधन गर्दै गर्दा राष्ट्र र जनताको सेवा गर्ने ठूलो जिम्मेवारी बहन गर्ने जिम्मेवारी आएको महुस गरेको छु ।”

उनले आफ्नो भूमिका बदल्नेबारे सोच आएर पनि त्यसो गर्न नसकेको बताएक छन् ।

“लामो समय नेतृत्वमा बस्दा अब त भिन्न भूमिकामा जाने बेला आएन र ! भन्ने लाग्छ,” प्रचण्डले भने, “तर, देशको परिस्थिति हेर्दा छोडेर हिँड्ने अवस्था बनेको छैन ।”

उनले प्रचण्ड नहुँदा माओवादी पार्टी रहँदैन भन्नेहरूलाई माओवादी पार्टी नभएर आन्दोलन भएको जवाफ फर्काए ।

“कतिपयले भन्छन्– प्रचण्ड नहुने हो भने यो पार्टी रहँदैन । तर, मैले भनेको छु । यो प्रश्न नै गलत छ । माओवादी पार्टी मात्र होइन । एउटा क्रान्तिकारी आन्दोलन हो । यसल इतिहासमा त्याग र बलिदानको स्तम्भ खडा गरेको छ,” प्रचण्डले भने, “त्यसैले प्रचण्ड नहुँदैमा ओन्दोलन सकिन्छ भन्ने हुँदैन । माओवादी आन्दोलन सधै जीवित रहने छ ।”

माओावदी केन्द्रको महाधिवेशन विचारका हिसाबले अहिले भएका सबै पार्टी भन्दा विशिष्ट रहेको भन्दै उनले यसमा व्यक्तिको आदेश र बुर्जुवा अभ्यास दुवै नभएको दाबी गरे ।

“हाम्रो महाधिवेशनमा अहिले देशमा भएका सबै महाधिवेशन भन्दा विचारको बहस भएको महाधिवेशन हो । कुनै व्यक्तिको आदेशबाट चल्ने पनि हुन दिएनौँ । बुर्जुवा बाटोमा जान पनि दिएनौँ,” उनले भने, “यो महाधिवेशन प्रचण्डको आदेशमा होइन, स्थायी कमिटी र केन्द्रीय कमिटीको सर्वसम्मत निर्णयमा यो केन्द्रीय कमिटी निर्वाचित भएको हो । कसै कसैले प्रचण्डले तालिबजाउ भनेर तालि बजाइयो भनियो । यो हाम्रो आन्तरिक जनवादको अपमान हो । कसैको आदेशमा चल्यो भन्ने टिप्पणी भन्दा विडम्बना केही छैन ।”

उनले पार्टीलाई राष्ट्र र जनताप्रति समर्पित गर्ने संकल्प लिएर आएका बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org