ताजा समाचार

प्रचण्डको प्रस्तावमा स्थानीय चुनाव धकेल्ने नियत छ, त्यो हामीलाई मान्य छैन: प्रदीप ज्ञवाली

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन सारिए एमालेलाई मान्य नहुने बताएका छन्।

ज्ञवालीले निर्वाचन आयोगले प्रस्ताव गरेकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए। त्योभन्दा अगाडि या लगत्तै संघ र प्रदेश संसदको निर्वाचन भएमा आफूहरूलाई स्वीकार्य हुने उनले बताए।

बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनको बैठकमा वैशाखमा संसदको र मंसिरमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

एमाले उपमहासचिव ज्ञवालीले प्रचण्डको उक्त प्रस्ताव अनुचित रहेको बताए।

‘यो प्रस्ताव स्थानीय तहको निर्वाचन पर धकेल्ने नियतका साथ आएको छ। अर्को कुरा उहाँहरूले हिजो प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनेर विरोध गर्नुभयो। अहिले उहाँहरू आफ्नो भनाइविपरीत उभिन खोज्नुभयो,’ उनले भने,’एक वर्षअघि प्रतिनिधि सभा विघटन गर्नु र चुनाव गर्नु प्रतिगमन हुन्छ भने ६ महिना अगाडि गर्दा कसरी अग्रमन हुन्छ। त्यो संवैधानिक र कानुनी दृष्टिकोणले पनि गलत प्रस्ताव हो।’

ज्ञवालीले सत्तारूढ दलको मनसाय स्थानीय तहको निर्वाचनलाई पर धकेल्नु रहेको बताए। स्थानीय तहमा रिक्तता सिर्जना गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उनको भनाइ छ।

‘चुनाव गराउने नियतले यो कुरा आएको छैन। त्यतिबेला हामीले एउटा आधार बनाएर विघटन गरेका थियौं। हामीले वाम गठबन्धनको पक्षमा जनमत पाएका थियौं। पछि त्यो जनमत खण्डित भएकाले निर्वाचनमा जाने भनेको हो,’ ज्ञवालीले भने,’पहिला नै चुनावमा जाने हो भने विगतमा प्रतिनिधि सभा विघटन र निर्वाचनको मिति घोषणा हुनुलाई प्रतिगमन भनेर हामीले गलत गरेछौं भन्नुपर्‍यो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org