ताजा समाचार

हरि खड्काविरुद्ध अख्तियारको मुद्दा, आईएको नक्कली प्रमाणपत्र देखाएर प्रहरीमा जागिर खाएको दाबी

काठमाडाैँ । नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

नक्कली शैक्षिक प्रमाण-पत्र लिएर प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएर जागिर खाएको आरोपमा खड्काविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

बुधबार अख्तियारले विशेष अदालतमा खड्काविरूद्धको अभियोगपत्र पेस गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।

अनुसन्धानमा खड्काले भारतको माध्यमिक शिक्षा परिषद वाराणशी उत्तरप्रदेशबाट जारी भएको आईएको नक्कली प्रमाण पत्र पेस गरी भर्ना भएको देखिएको छ।

खड्का २०५५ साल कात्तिक १ गते असईमा भर्ना भएका थिए। उनी महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत् थिए।

खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए। खड्का हाल भने सेवा निवृत्त भइसकेका छन्।

खड्कालाई साबिक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) अनुसार सजाय हुन माग गरी मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले बताए।

नेपाल पुलिस क्लबबाट सन् २००३ देखि २००६ सम्म खेलेका खड्का त्यसपछि ६ वर्ष पुलिस फुटबल टिमको व्यवस्थापकीय भूमीका रहेका थिए। त्यसपछि खड्काले पुलिसको जगिरबाट राजीनामा दिएका थिए।

उनी गत वर्ष राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्य नियुक्त भएका थिए। मन्त्रिपरिषद् बैठकले उनलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो।

खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुन्। सन् १९९५ देखि २००६ सम्म नेपाली राष्ट्रिय टिमबाट खेल्दा खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरे। उत्ती नै गोल निराजन रायमाझीको नाममा पनि छ।

खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमको पूर्व प्रशिक्षक हुन्। नेपालमै २०७६ मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिए थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org